पुस, १० काठमाडौं । वीर अस्पतालको सर्जिकल भवन प्राङ्गणमा कात्तिक २५ गते, बिहान ९ बजे तिर अस्पतालको सरसफाइ अभियानको शुभारम्भ गरिरहेका थिए- स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत । कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले जिम्मेवारी सम्हालेपछि वीर अस्पतालको सेवामा ठूलो परिवर्तन भएको दाबी गरे ।
‘मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिएपछि वीर लगायतका सरकारी अस्पतालमा सेवा बिस्तार भएको छ’ मन्त्री बस्नेतले भने, ‘अब कोही बिरामी उपचार नपाई मर्नुपर्ने अवस्था आउँदैन ।’ मन्त्री बस्नेतले यस्तो दाबी गरिरहँदा सडकपारिको आकस्मिक कक्षले गिज्याइरहेको थियो । आकस्मिक कक्षको शौचालय छेउमा अन्दाजी (४०) वर्षका एक व्यक्तिको बेवारिसे लास ट्रलीमा थियो । चिकित्सकका अनुसार थप उपचार हुन नसक्दा उनको मृत्यु भएको हो । ‘हिजो बेलुकासम्म यही भुइँमा छट्पटाइरहेका थिए । उपचार नै नपाएर मृत्यु भयो’ आकस्मिक कक्षमा भेटिएकी एक महिलाले भनिन्, ‘मन्त्री उता भवनमा भाषण दिइरहेका छन्, यता बिरामी उपचार नपाएर मरिरहेका छन् ।’
‘उहाँ काम भन्दा पनि प्रचारमा बढी रमाउने गरेको देखियो । वीरमा बेड नपाएर नै दैनिक २/३ जना नागरिकले देहत्याग गर्छन्’ एक चिकित्सकले गुनासो गर्दै भने, ‘आकस्मिक कक्षमा स्वास्थ्य मन्त्रीले एक दिन सर्वसाधारण भएर सेवा लिए अवस्था थाहा पाइहाल्नुहुन्छ ।’कोरोना संक्रमणसँगै सबैजसो नेपालीले कण्ठ पारेको नाम हो, स्वास्थ्य मन्त्रालय । गठबन्धन सरकारमा प्रधानमन्त्री भन्दा बढी चर्चा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बटुलिरहेका छन् ।
२६ साउन २०८० मा राष्ट्रिय सभागृहमा आफ्नो १०० दिने उपलब्धि सुनाउन मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत डाकेका थिए । उनले सय दिनमै स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको ‘बि्रफिङ’ प्रधानमन्त्री दाहालसमक्ष गरे । प्रधानमन्त्री दाहाललाई फुक्र्याउँदै उनले उपचार खर्च अभावमा कोही नागरिक घरमै मर्नुपर्ने अवस्था अब नहुने बताए । त्यति मात्रै होइन, त्यस दिन उनले ६ महीनाभित्रै स्वास्थ्यमा जनताले ठूलो परिवर्तन देख्ने दाबी समेत गरे । बस्नेतको भाषण सकिएपछि प्रधानमन्त्री दाहालले पनि बस्नेतको प्रशंसा गरे ।
‘उहाँले जतिबेला पनि मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको कामको ब्रफिङ गर्न थाल्नुहुन्छ । सबै मन्त्रीहरूको आङ अलिकति जिरिङ्ग हुन्छ’ प्रधानमन्त्री प्रचण्डले मन्त्री बस्नेतको प्रशंसा गर्दै भनेका थिए, ‘निकै इनर्जेटिक र डायनामिक मन्त्री हुनुहुन्छ । सय दिन पुग्दा-नपुग्दै आफ्नो नेतृत्वमा केही मानक स्थापित गरिसक्नुभएको छ ।’ त्यसो भए स्वास्थ्य क्षेत्रमा बस्नेत र दाहालले दाबी गरे झैं मानक स्थापित हुने काम भएका छन् त ?
बस्नेतले ७ महिनाभन्दा बढी मन्त्रालयको नेतृत्व गरिरहँदा बढी प्रचारमै रमाउने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ती अधिकारीका अनुसार बस्नेतले नीतिगत काम गरेर दीर्घकालीन रूपमा प्रभाव पार्ने खालका काममा चासो दिएका छैनन् । ‘उहाँसँग काम गर्न सक्ने अनुभव र क्षमता छ जस्तो लागेको थियो । स्वास्थ्य क्षेत्रका दीर्घकालीन विषयलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुभएन’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘लोकपि्रयताका लागि काम गरेको देखाउन खोजे पनि कार्यान्वयन पाटो कमजोर रहृयो ।’
सय दिनका उपलब्धि सुनाउने कार्यक्रममा मन्त्री बस्नेतले १०७ वटा कामको सूची प्रस्तुत गरेका थिए । तिनमा नीतिगतभन्दा पनि नियमित प्रक्रिया अन्तर्गत हुने कामको संख्या धेरै थियो । विभिन्न कार्यक्रममा उपस्थित भएको, भर्चुअल बैठकमा सम्बोधन गरेको, बैठक बसेका विषय पनि त्यो सूचीमा समावेश थिए । त्यसैगरी हरेक वर्ष स्वास्थ्यका नियमित कार्यक्रम गर्न ‘डोनर एजेन्सी’ ले दिने अनुदानलाई पनि उनले उपलब्धिका रूपमा समेटेको भेटियो । जस्तो कि ‘नेपाल स्वास्थ्य क्षेत्र- रणनीतिक योजना (२०७९/८०-२०८७/८८)’ लाई पनि उनले आफ्नै पहलकदमीमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको उल्लेख गरेका छन् । तर, रणनीति पारित गर्दा बस्नेत स्वास्थ्य मन्त्री भएकै थिएनन् ।
डेंगु परीक्षणका लागि नमूना संकलन गरी ‘सेरोटाइपिङ’ गरिएको, ‘जीन सिक्वेन्सिङ’ गरिएको काम समेत उपलब्धिको सूचीमा छन् । यी उपलब्धिमध्ये ९५ प्रतिशत काम नियमित प्रक्रिया अन्तर्गतका छन् ।