ओली र लेखकलाई विदेश जान निशेध

काठमाडौं २० असोज । भदौ २३ र २४ का घटनाबारे बनेको छानबिन आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले आयोगको स्वीकृतिबिना उनीहरूलाई काठमाडौं उपत्यका छाड्न नपाइने व्यवस्था गर्न गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिएका छन् ।

अध्यागमन विभागले ती पाँच जनाको यात्रामा रोक लगाइसकेको पुष्टि गरेको छ, तर राहदानी भने रोक्का गरिएको छैन । मन्त्रालयका स्रोतका अनुसार, “राहदानी रोक्का नभए पनि काठमाडौं बाहिर जान वा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जान अनुमति छैन ।”

मन्त्रिपरिषदबाट पनि राहदानी रोक्काबारे कुनै निर्णय नभएको बताइएको छ। यसले स्पष्ट गर्छ, ओली र लेखक विदेश जान त पाउने छैनन्, तर उनीहरूको राहदानी औपचारिक रूपमा जफत गरिएको छैन ।

पूर्व प्रधानमन्त्री ओलीले यसअघि प्रतिक्रिया दिँदै भनेका थिए, “अन्तरिम सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्ने होइन ।”

त्यस्तै, नेपाली कांग्रेसले राहदानी रोक्का गर्ने सिफारिसलाई प्रतिशोधपूर्ण कदम भनेको छ । राहदानी ऐनका प्रावधान अनुसार यस्तो कदम अनुसन्धान, अदालतको आदेश, वा सरकारको प्रत्यक्ष निर्णयका आधारमा मात्र लिन सकिन्छ । हाल आयोगको सिफारिसका आधारमा उनीहरूलाई काठमाडौंमै सीमित गरिएको बुझिएको छ ।

प्रतिक्रिया