सम्बन्ध ओछ्यानको

@ रोशनी कार्की

काठमाडौं ०२ कार्तिक ।  सम्बन्ध हाम्रा अनेकन छन् । आमाबाबुसँग छोराछोरीसँगको सम्बन्ध, दिदीबहिनीसँगको सम्बन्ध, श्रीमान श्रीमतीसँगको सम्बन्ध गाउँघर छरछिमेकसँगको सम्बन्ध, नातागोतासँगको सम्बन्ध आदि । त्यस्तै ओछ्यानको बनावट पनि विभिन्न प्रकारको हुन्छ जस्तै परालगुन्द्रीको ओछ्यान, फाटेका टालेकाको कपडाबाट बनाईएको ओछ्यान, भुई, खाटको, सुन्दर लाखौं करोडौं पर्ने ओछ्यान अर्थात गरिबको भुई, मध्यम वर्गको खाट र धनीको बेडविस्तारालाई साधारण भाषामा ओछ्यान भनियो । यी दुई सम्बन्ध र ओछ्यानलाई एकै अर्थमा भन्दा यहाँ लोग्ने स्वास्नीको सम्बन्ध स्थापित गर्ने स्थानलाई यस लेखमा ओछ्यानले प्रष्ट्याउन खोजिएको छ । सृष्टि संचालानार्थ महिला र पुरुषको सम्बन्ध अपरिहार्य छ । यसलाई जस्तोसुकै तर्कले पनि काट्न सक्तैन । असल सम्बन्ध संतानोत्पादनको लागि ओछ्यान र जसको कार्य हाम्रो जस्तो समाजले रातमा मात्र स्वीकारेको छ । यसको अर्थ यो होईनकी ओछ्यान र रात बाहेकको सम्बन्धबाट सृष्टी नै चल्दैन । सत्य चाही यो हो की महिला र पुरुषको डिम्बसय र शुक्रकीटको मिश्रणबाट सन्तानको प्राप्ती हुन्छ । जसको माध्यम आम जनमानसले बुझ्ने रातको समय र ओछ्यान यी दुई तत्वलाई एक आपसमा मिसाउँदा पहल गर्ने अनिवार्य तत्व मानिन्छन् । तर आजको २१औ सताब्दीमा अन्य बाटाहरु पनि खुला भएका छन् । यहाँ सन्तान उत्पादन गर्न ओछ्यान नै चाहिन्न, रातको समय मात्र पनि हुन पर्दैन र बिधिवत रुपमा लोग्ने स्वास्नी पनि चाहिन्न । चाहिन्छ त केबल डिम्बसय र शुक्रकिट ।  यसो भनिरहँदा महिला र पुरुषलाई समाजमा विरुप र विकृत बनाउने यी दुई शब्दहरु आफैमा आपत्तिजनक छन् । एउटी महिला र पुरुषलाई बदनाम गर्नुछ भने हाम्रो जस्तो पाखण्डी समाजमा यी दुईबीचको  सम्बन्ध हेर न सबैलाई थाहा भैहाल्छ नी भन्ने हल्ला चलाईन्छ । त्यस्तै ओछ्यान महिलालाई अर्को बदनाम बनाउने शब्द हो । अर्काको ओछ्यान तताउने जात, फलानाकी ठूला ठूला कुरा गर्छे आदि । यी दुई शब्दले मात्र महिलालाई प्रहार गरेको छ । तर प्रहार गर्नेहरु पुरुष र महिला दुवै छन् । पाखण्डी समाजले त महिलालाई वेडको विषयमा वेश्या नक्कली, बाईफाले लगायतका अनगिन्ति नाम दिएको छ । त्यस्तै अर उपनाम पनि । तर त्यही समाज यी सब उपनामसंग समाजले पुरुष जोडिदिएकै हुन्छन् । समाजले पुरुषको कही कतै दोष देख्दैन । उल्टै ऊ त पुरुष न हो सहज स्वीकार्यता बनाउँछ । सधै त्यस्तै कामको लागि उक्साएको हुन्छ । यस्तो समाजलाई पाखण्डी नभनेर के भन्ने ? 

१. सम्बन्ध ओछ्यानमा मात्र देख्नेहरु :

माथि पृष्ठभूमिमा सम्बन्ध र ओछ्यानको बारेमा केही प्रष्ट्याईएको छ । यो पाखण्डी समाजमा लोग्ने र स्वास्नीको सम्बन्ध केवल ओछ्यानमा मात्र भेट्ने गरेको छ । के यो सही हो ? सधै एउटी महिला आफ्नो लोग्नेबाट यही मात्र सपना र यही मात्र जपना जपेकी हुन्छे । यदी ओछ्यानमा मात्र लोग्नेको सम्बन्ध हुने हो भने किन कानुनमा बैबाहिक बलात्कारको कार्यलाई दण्डनीय बनाएको ? फेरी लोग्ने स्वास्नीको सम्बन्धमा आँच आउँन लागेको खण्डमा अनुसन्धान गर्ने दौडानमा ओछ्यान एउटै छ की छैन भनी बारम्बार सोधपुछ किन गरिएको ? कानुनले व्यबहार चलाउने हो या व्यबहारले कानुन ? हिजोआज असरल्ल संचारमाध्यममा पढेलेखेका वुद्धिजिवी महिलाका अधिकार बुझेका र पुरुषलाई महिला मैत्रीको पाठ सिकाउदै हिड्ने महिलाहरु लोग्ने मेरो ओछ्यानमा आउँदैन, म अधिकारबाट वञ्चित भए मलाई मेरो अधिकार दिलाई देउ भन्दै कुर्लेका हुन्छन् । के हामी महिलाहरुले लोग्नेको माया, ममता, स्नेह जति ओछ्यानमात्र भेट्ने हो ? सम्बन्धमा खटपट भएका महिला तथा पुरुष दुवैले भन्ने गरेका छन् आफ्नो कर्तव्य निभाएका छौं सन्तानलाई माया गर्छन, घर खर्च दिनु नै भएको छ । तर ओछ्यानमा आउनुहुन्न, म सँग सुत्दिनन् । कस्तो सोचाई हो र कस्तो बुझाई हो ओछ्यानमा आउँदैनन्, मलाई माया गर्दैनन्, म अधिकारबाट बाहिरिए, अन्यायमा परे न्याय दिलाई देउ । महिला अधिकारका कुरा गर्ने हो यो सम्बन्ध र ओछ्यनबाट अब माथि नउठेसम्म हाम्रो परिवर्तन हुदैन यसले सामाजिक र आर्थिक रुपान्तरण आउँदैन । जबसम्म सामाजिक र आर्थिक रुपान्तरण आउँदैन महिला सशक्त हुदैनन् । आज पुरुषत्व भए झै महिलामा बढी महिलात्व बढेको कारण यो ओछ्यान र पुरुष अनिवार्य देखिएको छ। गहिरिएर सोच्ने हो भने आज महिला हिंसा त्यसमा पनि घरयासी हिंसा, बलात्कार बढ्नुमा समेत यही ओछ्यानको बढी प्रेम हो । 

२.  युग भनेको पुरुषको हो ? 

सदियौं देखि समाज पितृसत्ताबाट विकास भएको हो जहाँ सर्वैंसर्वा पुरुष हुन्छन् । महिला जान्नेसुन्ने र अधिकार प्रयोग गरेको पुरुषलाई सह्यै हुन्न, भन्ने पाठ हामीले पढेका मात्र नभएर कण्ठस्थ घोकेका छौं । विभिन्न नीति नियम, कार्यविधि अन्तरार्ष्टिट्रय दस्तावेज, संयन्त्र खडा गर्दै महिला विकास र सशक्तीकरणमा राज्यले र गैरसरकारी संघसस्थाहरुले ठूलो मात्रामा लगानी गरेका छन् । सक्षम, दक्ष र बुद्धि विवेकका ढोकाहरु खोलिदै गएका छन् । तापनि यो ओछ्यानको मोहले कहिल्यै छोडेको छैन । पुरुषकै वरिपरि घुम्न पाए आफूलाई सक्षम र भाग्यमानी ठान्नेमा कतिपनि परिवर्तन हुन सकेन जसलेगर्दा पुरुषहरुमा यो युग भनेकै पुरुषको हो भन्ने घमण्ड बढ्दै गयो । यसलाई मौलाउने र फस्टाउने काम महिलाबाटै भई रहेको छ । हामी महिला पुरुषलाई छोड्न पनि नसक्ने मिल्न पनि नसक्ने कमजोरी थाहा पाएरै पुरुषले महिलामाथि दमन, शोषण र अन्याय गरेको छ । जसलाई ओछ्यानमा पायो भने माया र ओछ्यानबाट अन्त गयो भने  हिंसा भनिरहेका छौं । जुन कार्यबाट पुरुषले यो युग आफैले बोकेको महसुस गरेको छ । ऊ बाठो छ ओछ्यान भित्र पनि र बाहिरपनि आफैलाई अमूल्य ठानेको छ । यो मौका महिलाले नै दिएका हुन् । ओछ्यान छोडेर लोग्ने अन्यत्र गयो चिन्ता तिमी महिलालाई हुने ? लोग्ने अन्यत्र गयो चिन्ता तिमी महिलालाई हुने ? लोग्नेले अर्की महिलासँग उठबस गर्‍यो चिन्ता तिमीलाई हुने ? मोबाईलमा महिलाको कल र म्यासेज आयो चिन्ता तिमीलाई हुने ? हे महिला हो किन तिमीहरु लोग्ने कै पछि लागिरहने । यो उर्जाशिल समय लोग्ने ओछ्यान छोडेर भाग्ला भनेर कतिसम्म विताईरहने । तिमी बहादुरी छौं भने आफ्ना हरेक चाहानालाई संम्यमताका साथ लोग्नेमानिस सरह निभाउन सक्छौं । तर त्यसको सही व्यबस्थापन गर।  होईन भने पुरुषको स्वतन्त्रतालाई तिम्रो अधिकार नबनाउ । तिमीले थुप्रै अधिकारलाई तुहाउने छौं । केबल ओछ्यान मात्र मेरो हो भन्ने तिम्रो धारणा हो भने तिमीमा कुनै परिवर्तन आएको छैन र आउने पनि छैन । त्यसैले षुरुष म युग हो भन्छ भने तिमीले युग बदल्नु पर्छ । 

३.  के सिन्दुर हाल्नुको महत्व आजिवन ओछ्यानसँगै हुनु हो ? 

हाम्रो समाजमा विवाहको अर्थ सिन्दुर र पोते लगाईदिनु हो । जसबाट सिन्दुर हालिने सँगै घरजम गरेर बस्नु पर्छ । समाजमा यी दुईलाई लोग्ने स्वास्नी भनेर बुझिन्छ । यस प्रकारको सम्बन्ध कानुनको भन्दा पनि सामाजिक बन्धन हो । तर हामी महिलाले के अर्थ लगायौं भने पुरुष मात्र मेरो हो । उसले अन्यत्र कतै महिलालाई हेर्नु नै हुदैन, अर्थात महिलाको कुनै कुरा सिन्दुर हालेकी महिलासँग सुनाउनु महापाप हो । बिवाह गर्दा कुनै यस्तो प्रकारको सम्झौता गरेको छैन । तैपनि महिला मेरो अधिकार भन्ने भ्रम पालेकी हुन्छिन,  प्रमाण बलियो केही हुन्न । त्यही सिन्दुर पोते र ओछ्यानमा देखाउछिन । हैन हो सधै तिमीलाई मात्र हेर्ने र तिमीलाई पाल्नेको ठेक्का चाही कसरी भयो ? तिमी किन यती कमजोर भयौ ? उसले गरेजसो केही गर्न नसक्ने । ऊ दायाँ बायाँ लाग्ने बित्तिकै महिला ललरी र बिलौरी गाउँदै ओछ्यान हरायो म एक्लै भए अन्यायमा परे भनी किन कमजोर हुने ? हो त हिजो मैले जन्म जात लिएर आएको होइन । आज बीचबाटोमा भेटेको सम्बन्ध बीच बाटोमै हरायो भनेर आफूलाई काम लागेन भने काहाँ जान्छ कता जान्छ किन खोजी निन्दा गर्ने ? समयलाई ब्यबस्थापन गर्न सके सम्बन्धलाई ब्यबस्थापन गर्दै जाने, नभए आफूमा सकरात्मक उर्जा भर्ने । तिमीले ब्यबस्थापन गर्न सक्यौ भने ओछ्यान र सिन्दुर बढाए हुन्छ । होइन भने आफूलाई अन्यत्र लगाउन सकिन्छ । यसैले यो सिन्दुर र पोतेको भ्रमले लोग्नेलाई कजाउने र आफूलाई सजाउने मौका गुमाउँन सक्छौ यसैले अबको तिम्रो सामथर््य ओछ्यानलाई त्याग्दै जीवनलाई विविधीकरण गर्दै लैजानुमा भलो देखिन्छ ।

४.  पुरुषत्व वृद्धिमा महिलाको भूमिका :

हाम्रो समाजमा पुरुषत्व शब्दलाई सकारात्मक भन्दा पनि नकरात्मक रुपमा लिने गरिएको छ । यसो हुनुमा कुनै गलत देखिदैन । कारण समाजमा देखिएका पुरुषहरुको पुरुषार्थ केवल महिलालाई कजाउन र महिलामाथि शासन गर्नमै सीमित भएकोले होला । बुझ्नु पर्ने कुरा साहस आँट, उत्साह, स्फूर्ति, बल, वुद्धि, बिबेक जोसँग छ उही पौरुषीय व्यक्ति हो । यो क्षमता महिला पुरुष दुवैमा हुन सक्छ । यसैले पुरुष प्रवृत्ति महिलामा समेत भेटिन्छ । तर लेखकले यो समाजलाई बारम्बार पाखण्डी भन्दै गर्दा पुरुषको पौरुषत्व, बहादुरी महिलाको शारीरिक शोषण यौनसम्बन्ध र महिलाहरुले पुरुषको असली पुरुषत्व ओछ्यानबाट मात्र मापन गरेबाट पुरुष युग हाकेको भ्रममा अडिइरह्यो । यहि भुमरीमा महिला पुरुषको पुरुषार्थ केबल ओछ्यानमा मात्र भेट्न सकिने मान्यातामा रमेर बसे । जहाँ १८ घण्टा महिला घर भित्र र बाहिर परिश्रम गर्छिन बिना ज्याला । दिनभर बरालिएर उनका श्रीमान उनैलाई नचिन्ने अवस्थामा हुँदा समेत उनी ओछ्यानमै भेट्न आतुर हुन्छिन । यही पाखण्डी समाजको डरले उनी हुत्याएर बाहिर निकाल्न सक्दिनन् । जहाँ उनका पुरुषको पुरुषार्थ बढ्दै जान्छ । परिश्रमले जोहो गरी खाना पकाउँछिन । गुडडी हाकेर आउँने पुरुषलाई सबैभन्दा अगाडी नखुवाई परिश्रम गर्नेले खान पाउँदैनन् । पुरुषको पौरुषत्वमा नब्बर चढ्दै जान्छ । हो यो आडम्बरलाई महिलाले  किन ढाकछोप गर्दै गए । भोलि ओछ्यानकै सम्बन्ध  खल्बलिन्छ भनेर ? हे बहादुर नारी के फरक पर्छ हो, ओछ्यानमा तिम्रा पुरुषलाई नभेट्दैमा तिमी किन कमजोर बनिरहेकी ? समाज पुरुषले  ओछ्यान बदल्नमा पुरुषार्थ देख्छ भने तिमी महिलालाई आवश्यकता लाग्यो भने सुरक्षित ओछ्यान बनाउन सक्छौ ? यस्तो ओछ्यानसँगको सम्बन्ध तिमीले तोड्न सक्नु पर्छ । 

५.  त्याग अनि समर्पण तिम्रो मात्र दिमागमा फूल्ने फूल हो ? 

समाजको संरचना महिला र पुरुषको असल सम्बन्धबाट विकास भएको हुन्छ । जहाँ पुरुष र महिला सहकार्य गर्छन र सहयात्रामा निरन्तर अगाडी बढिरहेका हुन्छन् । यो मान्यता आदर्श समाजको हो । जुन व्यक्ति घर, परिवार हुदै राष्ट्रको सम्मुन्तिसँग जोडिएको हुन्छ । सहयात्रा सहकार्य सहितको समृद्धि आउँछ । मिलनमा  कही कतै घटी र बेसी हुदैन । तर यहि पाखण्डी समाजले पुरुष महिलासँग सहकार्य गर्न खोजे पुरुषत्व घटेको महसुस गर्दछ । महिला फेरी ओछ्यानमा नआउलान भनी सधै सम्झौताको विउ उच्च पाठेघरमा कहिल्यै नजन्मने र नमर्ने अजम्बरी बनाएर बोकिरहन्छिन । पुरुष बाहेकको जीवनको कल्पना गर्न सक्दिनन् । सम्झौताका नाममा पुरुषको पौरुषत्व बढाईदिने र यो युगकै निर्माता पुरुष  भनी चिनाईदिने उत्तोलक, घिर्नी, उत्प्रेरक महिला भईदिन्छिन । विचरी महिला बाहिर महिला अधिकारका आवाजहरु अन्य महिलाहरुलाई पस्किरहन्छिन भने आफ्नो घरमा त्याग गरेकी हुँ कसैसँग झुकेको छैन । लोग्ने त मेरो अधिकार हो ओछ्यनामा हाम्रो मन मिले पनि नमिले पनि सम्झौता हो भनी चित्त बुझाएकी हुन्छिन । नारी तिमीमा आएको परिवर्तन सशक्तीकरण र चेतना यही हो त ? तिमीले ओछ्यान भन्दा भिन्न प्रकृतिमा तिम्रो लोग्नेलाई पाउँन सक्दिनौ ? यसो हो भने तिमी सशक्त भएकै छैनौ । तिमीले आफ्नो अधिकार प्रयोग गर्न जानेकी छैनौ ? देखाईदेउ यो समाजलाई समाजको निरन्तरता के तिमो मात्र त्याग हो ? पुरुष चाही जस्ताको तस्तै बसिरहने टसको मस नहुने समाजको सर्वैसर्वा हुने आखिर घर परिवार र सन्तान उनका पनि चाहाना होईन र ? हे नारी किन तिमी समाज, घर परिवार भन्दै त्यागको ट्याग बोकेर हिड्छौ । तिमीबाट मात्रै त यी सन्तान भएका होइनन् नि ? कि सहकार्य र सहयात्रामा पुरुषलाई हिडाऊ कि भने यसलाई भत्काएर अगाडी बढ । ओछ्यानमा त्याग गर्न थालेउ भने सती प्रथा उन्मूलन भई राज्यले यत्रो लगानी गर्दा पनि सतिले सरापेकै अवस्थामा इतिहासमा कहिल्यै नमेटिने गरी लेखिने छौ । इतिहासमा स्वणर्िम अक्षरले बहादुरीको कथा लेख्नु छ भने कि त त्याग पुरुषको दिमागमा भराऊ, कि एक्लै नबोक्ने गरी हटाऊ । 

६.  योनीमा इज्जत र लिङ्गंमा शक्ति देख्ने समाज :

समाजइतर मानवको जिवन्तता रहन्न । मानिस  मिलेर विकास भएको परिवेश नै समाज हो । जहाँ महिला र पुरुषको सहकार्य सहअस्तित्व र समभाव देखिनुपर्छ । यसैले समाज बाहिर रहने धृष्टता जसले देखाउँछ ऊ कि त इश्वर हो कि त पशु हो । यसो भनी रहँदा समाज सञ्चालनको लगाम शक्ति भएका पुरुषकै हातमा देखियो । जसले जसरी डोर्‍यायो त्यतै समाजको नियम कानुन बहिरहयो । कमजोरहरुलाई शक्ति भएकाहरुले धर्म संस्कार संस्कृतिका नाममा न्याकिरहने र पुरुषार्थ ठान्ने समाजको चरित्र बन्यो । यस्ता धेरै उदाहरण समाजमा छन् । जस्तैः लोग्नेको आयु वृद्धि गर्न स्वास्नीहरु पेटमा अन्न नपारी ब्रत बस्नुपर्ने, लोग्नेलाई मुख लाग्नु नहुने, लोग्नेले गर्छ त उसको ईज्जत जादैन, पुरुषार्थ गरेको हुने । सदियौदेखि चलिआएको यिनै प्रथाहरुले आजसम्म डेरा जमाई रहेका कारण लेखकले यस समाजलाई बारम्बार पाखण्डी भनेर सम्बोधन गरेको हो । महिलाहरुको इज्जत योनीमा देख्ने यो समाजले सोही कार्य गरेमा पुरुषको लिंङ्गलाई शक्तिशाली देखेको छ ।  यौन चाहाना प्राकृतिक हो, महिलाले स्वयम ओछ्यानमा सिन्दुर हालेसँग मात्र पुरा गर्न पाउने समाजको नियम छ । तर पुरुषका लिंङ्गहरु जहाँतहाँ जबरजस्ती ललाई फकाई प्रलोभन पारी, ढाटेर छलेर, डर त्रास धाकधम्की देखाई विचरण गरेपनि पुरुषार्थ गरेको ठान्ने यो सामाजले महिलालाई कहिल्यै न्याय दिएको छैन । पुरुषको यही शक्ति प्रर्दशन गर्न सिन्दुर हालेकीलाई इज्जत जोगाउन ओछ्यानको घेरा अति प्रिय बनेको छ । लोग्नेको हरेक कुकार्य आफूमाथि अन्याय अत्याचार सहने र खेपिरहने अनि यो ढोगी समाजका डरले विवाहित महिलालाई ओछ्यानले जताततै र जहिलेसुकै तर्सायाईरहेको छ । पुरुष कमाउन गयो वा कामले अन्यत्र गयो भने वर्षौसम्म ओछ्यानमा ऊ आउला र यौन चाहाना पूरा गरौंला भनी कयौं स्वणर्िम समयहरु स्वास्नी महिलाले गुमाएकी हुन्छिन । अर्को ओछ्यान बदल्न महिलाको इज्जत योनीमा देख्ने यो समाजले स्वीकार्दैन । उता पुरूषले पुरुषार्थ देखाईसकेको हुन्छन । पुरुषार्थ देखाउनु समाजको सहज स्वीकारोक्ति हो । हरेक महिलाका लागि यौनतृप्ती भनेको भण्डारण गरिने, थुपार्ने अनि पोख्नका लागि ओछ्यान र सिन्दुर हालेकोलाई पर्खिरहनु पर्ने सामाजिक बाध्यताले गर्दा महिलामाथि दमन, शोषण, घरेलु हिंसा आदि बढेको छ । यसैले महिलाहरु सशक्त हुनुलाई ओछ्यानको अन्यायलाई चिर्दै योनीको ईज्जत बदल्न सक्नुपर्दछ । 

७. संयोजन 

सम्बन्ध ओछ्यानको यस शीर्षकमा सार्थकता दिन माथि विभिन्न शीर्षकमा व्याख्या विश्लेशण गरिएको छ । पाठक वर्गलाई अध्ययन गर्दै जादाँ पुनः उल्लिखित शिर्षक झै महिला बाँकी रहेको योनीको इज्जत पनि हराएछ भन्ने लाग्न सक्छ । यो लाग्नु स्वभाविक कारण यही पाखण्डी समाजको उपज हामी हौ । 

 विभिन्न माध्यमबाट समाजलाई सभ्य र सुसंस्कृत बनाउने ठेक्का महिलाको मात्र हुने र सभ्य र सुसंस्कृत उलंघ गर्दा हुने पात्र पुरुष लिङ्ग शक्तिको प्रतिक मानिने । यसलाई समाजले महिला र पुरुष एकै रथका पाङग्रा हुन, धैर्यताकी खानी हुन आदि धेरै उपमा लगाएर अंलकाकार पहिराहिदिएको छ । सम्बन्ध मात्र ओछ्यानमा भेटिने पुरुषहरुको स्वागतमा महिलाहरु हरेक माध्यमबाट पिल्सिएका हुन्छन् । समाज सकृय रुपमा अगाडी बढ्न यी दुवै प्राणीबिच सौहार्दताको वाताबरण बन्नुपर्छ । यहाँ एउटाले सम्बन्ध अगाडी बढाउन ओछ्यानको सम्बन्ध माथि नउठ्ने हो र महिलाको सधै सम्बन्ध सुधार्न ओछ्यानमै कुर्नु पर्ने आडम्बरलाई अन्त्य गर्नु पर्छ । महिलाहरुले हरेक आफ्ना पुरुषबाट वास्तवमै सहकार्य, सहानुभुति, मूल्य, मान मर्यादा र आत्मिय प्रेम खोजेका हुन, जसलाई अब संयोजन गरिनु पर्दछ । सबैभन्दा महत्वपूणर् कुरा महिलाको मात्र इज्जत योनीमा खोज्ने र हरेक पुरुषका गल्ती अन्यायहरुलाई ओछ्यानको सम्बन्धमा समर्पण नगरेमा मात्र रथरूपी जीवन सहज बन्न सक्ला । 

(लेखक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपसचिव पदमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया