काठमाडौं २० असोज । नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको विलासी जीवनशैलीबारे प्रश्न उठेको छ । बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले लगाउने ६४ लाख रुपैयाँको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोतबारे प्रष्ट माग गरेका हुन् ।
उनले मिडियामा आएको समाचार गलत भए प्रमाणसहित खण्डन गर्नुपर्ने बताउँदै, सम्बन्धित मिडिया र संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानि मुद्दा दायर गर्न पनि अध्यक्षलाई चुनौती दिए ।
पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए समेत व्यक्तिगत प्रयोग नैतिक रूपमा गलत हुने टिप्पणी गरेका छन् । उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेर निजी लाभ लिएको आरोपको उदाहरण दिँदै नेतृत्वको जीवनशैलीमा पारदर्शिता जरुरी भएको जोड दिए ।
उनले बैठकमा नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि राखेका छन् ।