काठमाडौं ३ चैत । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ५ का जयदेव नेपालीलाई नगरपालिकाले उद्धार गरी नेपाल फर्काएको छ । इन्डोनेसिया गएको केही महिनामै जेल परेका नेपालीलाई नगर प्रमुख दिपक रिसालको पहलमा नगरपालिकाले नेपाल फर्काउन सफल भएको हो । नगरपालिकाले परराष्ट्र मन्त्रालयको समन्वयमा उद्धार गर्न सफल भएको नगरपालिकाले जानकारी दिएको छ । लगातार एक महिनाको प्रयासमा नगरपालिकाले नेपालीलाई नेपाल झिकाउन सफल भएको हो । मेनपावर एजेन्टको बदमासीका कारण जयदेव नेपाली इन्डोनेसीयाको जेलमा परेका थिए । जयदेवकी श्रीमतीले वडा नम्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीलाई श्रीमान जेल परेको सुनाइन् । वडा अध्यक्ष सुवेदीमार्फत उक्त सूचना नगर प्रमुख दिपक रिसाल र नगरपालिकासम्म पुग्यो । पराराष्ट्र मन्त्रालय, दुतावास र जनप्रतिनिधिको समन्वयात्मक पहल पछि जयदेव नेपाल फर्कन सफल भएका हुन् । गोकर्णेश्वर नगरपालिकाले गत माघ महिनादेखि बिदेशमा समस्यामा परेका नगरबासीलाई फर्काउन विदेश विभाग नै गठन गरि उद्धारको पहल गर्दै आइरहेको छ ।
