आन्दोलन गर्न तीनकुने पुगेका समर्थक पक्राउ ! दुर्गा प्रसाई अघोषित नजरबन्दमा


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका व्यवसायी दुर्गा प्रसाईंका समर्थक पक्राउ परेका छन् । उनले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका समर्थक र प्रदर्शनकारीहरू पक्राउ परेका हुन् ।

आज शुक्रबार दुर्गा प्रसाईलाई उनकै घरमा नजरबन्द जसरी प्रहरी खटाएर बाहिर निस्कन दिइएको छैन । प्रसाईँको भक्तपुर स्थित निवास र वरपर नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरेर उनलाई घरबाट बाहिर निस्कन नदिइएको हो । भक्तपुर जिल्ला प्रशासनले प्रसाईकै सुरक्षाका लागि प्रहरी खटाएको दाबी गरे पनि प्रसाई समूहले भने उनलाई अघोषित नजरबन्दमा राखेको भन्दै विरोध जनाएको छ ।

बिहीबार बल्खु क्षेत्रमा आन्दोलन र विरोध सभा गरेको प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएको थियो । तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन । तीनकुने पुगेका समर्थकहलाई भटाभट पक्राउ गरिएको छ ।

तीनकुनेमा पनि प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँबाट प्रसाई समूहका दुई दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँ हिँड्‍डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानीमा राखेको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी र खानतलासी गरिरहेको छ ।


प्रतिक्रिया