काठमाडौं २० असोज । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ । ३९ जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेन–जी समूहहरूको सहभागितामा गठित उक्त अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “भ्रष्टाचार र दण्डहीनताको अन्त्य हाम्रो आन्दोलनको प्रमुख उद्देश्य हो, तर अख्तियार नेतृत्व नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना नियुक्त भएकाले आयोगको विश्वसनीयता गुमेको छ ।” अलायन्सका अनुसार प्रमुख आयुक्त राईसहितका आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको छ । विज्ञप्तिमा हालसालैको विशेष अदालतको निर्णयलाई उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइएको छ। अदालतको आदेशमा राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ गरेको टिप्पणीसमेत उल्लेख भएको समूहको दाबी छ । जेन–जी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त राईको संलग्नता देखिएका नेपाल आयल निगम जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई पनि उद्धृत गर्दै उनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने बताएको छ । समूहले भनेको छ — “यी घटनामा प्रत्यक्ष वा नियामक भूमिकामा रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ। राजीनामामार्फत मात्रै अख्तियारको गरिमा र जनविश्वास पुनःस्थापना गर्न सकिन्छ ।” हाल संघीय संसद् नहुँदा महाअभियोग प्रक्रिया सम्भव नभएकाले, समूहले राजीनामाबाट पद रिक्त गर्नुपर्ने र त्यसपछि अन्तरिम सरकारले खुला आवेदन प्रणालीमार्फत नयाँ नियुक्ति समिति गठन गर्नुपर्ने माग गरेको छ। उनीहरूले नयाँ आयुक्तहरूलाई “पहुँचवालाको बन्द सूचीबाट होइन, योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट” नियुक्त गर्न पनि आग्रह गरेका छन । यदि माग पूरा नभए असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यक परे शान्तिपूर्ण प्रदर्शन गर्ने चेतावनी अलायन्सले दिएको छ। समूहका अगुवा अमित खनालका अनुसार, मागका सम्बन्धमा प्रधानमन्त्री, राष्ट्रपति र अख्तियार प्रमुखलाई इमेल पठाइएको छ । खनालले भने, “यदि प्रमुख आयुक्तले स्वेच्छिक राजीनामा दिएनन् भने, अख्तियार कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शनमार्फत नागरिक दबाब सिर्जना गर्नेछौं ।” जेन–जी मुभमेन्ट अलायन्सले भनेको छ — यो माग कुनै राजनीतिक स्वार्थका लागि होइन, जनताको विश्वास पुनःस्थापित गर्न र अख्तियारलाई साँच्चै निष्पक्ष निकाय बनाउनको लागि हो ।
