पुरानै मानसिकताको आधारमा नयाँ नेपाल निर्माण सम्भव छैन’ पूर्वगृह राज्यमन्त्री अन्सारी

फागुन ६ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको बताएका छन् ।

रौतहट जिल्लाको कनकपुरमा क्षेत्र नं. ३ को क्षेत्रीय भेलामा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपाली जनताले कांग्रेस र एमालेहरूको शासन ५० वर्षदेखि भोग्दै आएको र ५० वर्षमा यिनीहरूको शासनमा मुलुकले बेरोजगारी भ्रष्टाचार असमानता बेथिति अन्याय र अत्याचार भोगिरहेको बताएका छन् । ‘नेपाली जनताको सपना दिगो शान्ति समानता समाजिक न्याय र सबैको नेपाल बनाउने सपना अधुरो नै रहेको छ,’ उनले भने, ‘उत्पीडित जनताको नाममा खोलिएका पार्टीहरू र खासगरीकन मधेशी जनताको नाममा खुलेका राजनीतिक दलहरुले पनि पटक–पटक मधेशका जनता र नेपालको उत्पीडित जनतालाई धोका दिइरहेको अवस्था सबैको अगाडि जगजाहेर छ । यस्तो हालतमा यो मुलुकलाई सही दिशा दिनका लागि नेपाली जनताका सबै सपनाहरु साकार गर्नका लागि यो मुलुकमा दिगो शान्ति समृद्धि सुशासन र जनताका चाहना अनुसारको संविधान निर्माण गर्नका लागि हामीले अब उत्पीडित जनताको नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।’

जनताको चाहना सुशासन समानता समाजिक न्याय स्वाधीनता र आत्मनिर्भर नेपालको निर्माण गर्ने सपनालाई साकार गर्नका लागि र देशमा रोजगारको व्यवस्था गर्नका लागि किसानहरूको समस्यालाई समाधान गर्नका लागि महिलाहरूको हक अधिकारलाई सुरक्षित गर्नका लागि या देशको उत्पीडितहरु दलित, मुस्लिम, मधेशी, थारु, आदिवासी जनजाति र निषाद समुदाय लगायत र वर्गीय उत्पीडनमा परेका जनताहरूको सपनालाई पूरा गर्नका लागि अब नेपाल संघीय समाजवादी पार्टीको संगठन जिल्लाका देशका प्रत्येक जिल्लामा नगरमा गाउँमा वार्डमा टोलमा निर्माण गर्नुपर्ने उनले बताए ।

अध्यक्ष अन्सारीले भने, ‘अब हाम्रो देशमा पुरानै मानसिकताको आधारमा नयाँ नेपालको निर्माण सम्भव छैन । नयाँ नेपाल र नयाँ मधेशको निर्माण गर्नका लागि अब नयाँ शक्ति, नयाँ पार्टी, नयाँ नेता, नयाँ मोर्चाले मात्रै यो कुराहरु सम्भव देखिएको छ । पुरानाहरुलाई हामीले पचासौं वर्ष पटक–पटक सरकारमा पुर्याएर देखिसकेका छौं । त्यसकारणले अब म सम्पूर्ण यो क्षेत्रका पार्टीका पंक्तिका साथीहरुलाई भन्न चाहन्छु कि तपाईहरु अब जनताको पक्षमा लड्न, जनता र शहीदहरूको सपनालाई साकार गर्नका लागि नेपाल संघीय समाजवादी पार्टीको संगठन जनजागरण अभियानलाई तीव्रताका साथ अगाडि बढाउनुस् ।’

जनतामा आइपरेका दैनिक समस्याहरु, उनीहरुमाथि भइरहेको अन्याय, अत्याचार, शोषण र दमन को सामना गर्दै उत्पीडित जनताको पक्षमा दृढताका साथ उभिन र संघर्ष गर्न पनि उनले निर्देशन दिए ।

भेलामा मधेश प्रदेशका पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीले मधेश प्रदेशको सरकार मधेशी जनताको चाहना र आवश्यकताअनुसार चल्न नसकेको र मधेश प्रदेश सरकारको असक्षमताको कारणले संघीयता नै बदनाम हुन लागेको बताइन् । 

प्रतिक्रिया