कवाडी गोदाममा आगलागी : एकजनाको मृत्यु,चार घाइते

विराटनगर  : विराटनगरमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको हो । 
घाइतेमध्ये एकजनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । अन्य घाइतेमध्ये तीनजना अजिता सरदार,सुशीला पासवान, पिंकी कामतको न्युरोमा र एकजना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचारतमध्ये दुईको अवस्था गम्भीर छ । 
सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको हो। उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र एकजना मानिस जलिरहेको देख्न सकिन्छ । तर,आगो नियन्त्रणमा नआएकाले उद्धार गर्न सकिएको छैन । 
कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया