@ रोसनी कार्की
सन्तान सुख
वंशको धरोहर
संम्पत्ति संरक्षण र वृद्धि
वृद्धको सहारा
पितृको मोक्ष
छोरामै मात्र देख्ने
घर परिवार
के यो पितृसत्ता होइन र ?
पौरूषार्थ पुरूषभित्रै खोज्ने
छोरीहरूमा क्षमता नदेख्ने
ऋण, पान र धनमा
छोरालाई रोज्ने
नाता सम्बन्ध
पुरूषमै टिक्ने
यस्ता नजिकका छिमेकी
के यो पितृसत्ता हैन र ?
रात दिन बरोबर
पुरूषको
इज्जत चरित्र
ठेक्का महिलाको
अंश, वंश र सौभाग्य
पुरूषकै
सम्पत्ति दम्पत्ती
नासो पुरूषकै
न्वारान अनि चिता
पुरूषको
यत्र, तत्र सर्वत्र
समाज वर्चस्व पुरूषकै
के यो पितृसत्ता होईन र ?
आसन, शासन र भाषण
पुरूषकै
नेता, निर्णय र नेतृत्व
पुरूषकै
राजनीति, अर्थनीति र समाजनीति
उनैको
हुकुम, हैकम र वागडोर
पुरूषको
सत्ता, सुविधा र सौन्दर्यता
उनैको
राज्य, रजौटा र राजकाज
पुरूषको
घरमुली पुरूष
परिवारको मियो पुरूष
छिमेक सम्बन्ध पुरूष
समाज उत्तम पुरूष
अधम महिला
के यो राष्ट्र पितृसत्ता हैन र ?