भारतमा देखिएको कोरोनाबाट आत्तिनुपर्ने अवस्था छैन तर सजग रहनु

काठमाडौँ - भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट सरकारले सबैमा नआत्तिन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन्। उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वाससम्बन्धी रहेको र नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको बताए।

'अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ। नयाँ भेरियन्ट भए पनि नयाँ लक्षण यसमा छैन। श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,' उनले भने, 'हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन।' कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजन लगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने उनले बताए।

उहाँका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ। लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने आणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको उनले बताए। सबैले कोरोना भाइरसविरूद्ध खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमण रोकथाम खोपले गर्ने उनले बताए।

भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ इन्डियाका अनुसार मंगलबार कोभिड–१९ बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकि ९ दिनअघि जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए। सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिरामी एक्कासि बढ्न थालेका हुन्। भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम 'पिरोला' राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोवामा पनि भेटिएको छ।

कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोरोना संक्रमण बढेको बताएका छन्। भारतमा मात्र होइन, अमेरिका र युरोपमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ। अर्कोतिर मानिसहरूले लगाएका खोपको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोरोना संक्रमण केही बढ्न थालेको बताइएको छ।

प्रतिक्रिया