गोरखा : गोरखाको पालुङटार नगरपालिकाले २०८३ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । अहिले बालमैत्री नगरपालिका घोषणाको पहिलो चरणको तयारी सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
नगरपालिकाभित्रका सामुदायिक, संस्थागत मावि, निमावि र प्रावि गरी ५२ वटा विद्यालयमा बाल क्लव सन्जाल समिति गठन भइरहेको नगरपालिका शिक्षा शाखा प्रमुख माधव पोखरेलले बताए । सबै विद्यालयमा समिति गठन भएपछि उनीहरुलाई नै समेटेर वडास्तरीय बाल सन्जाल गठन हुनेछ । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ मा उल्लेख ५२ वटा सूचक रहेको र सो सुचकलाई कार्यान्वयनका लागि पहिलो चरणको नीति निर्माण कार्य सम्पन्न भइसकेको शाखा प्रमुख पोखरेलले जानकारी दिए ।
अब पालिकास्तरीय बाल सन्जाल गठन हुनसाथ बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता लगायतका सूचकहरुलाई कार्यान्वयन गर्नका लागि समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु हुने उनले बताए । अभिमुखीकरण कार्यक्रममा वडा र पालिकाका जनप्रतिनिधि, स्थानीय, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल सन्जाल सबै पदाधिकारीहरुको सहभागिता रहनेछ ।
त्यसपछि विद्यालयका भौतिक संरचना बालमैत्री बनाउन र बालअधिकारको सुनिश्चित गर्नका लागि विभिन्न अभिमुखीकरण कार्यक्रम हुनेछ । त्यस्तै, नगरपालिकाभित्र बढिरहेको बालविवाहको दर न्यूनीकरणका लागि विभिन्न कार्यहरु अगाडि बढाइने उनले बताए । साथै १८ वर्ष नपुगेको बालबालिकाहरुलाई राज्य, परिवारको दायित्व के हो ? भनेर बुझाउने र बालबालिकाहरुको पनि आफनो कर्तव्य के हो बुझाउने काम हुने उनले जानकारी दिए ।
त्यस्तै, सामाजिक कुरीतिहरु, छुवाछुत, दाइजो प्रथा, लैङ्गिक हिंसाका बारेमा बालबालिकाहरुलाई सुसुचित गराई त्यसले समाजमा पर्ने असरका बारेमा उनीहरुलाई जानकारी गराउने उनको भनाइ छ ।
यस प्रकारका कार्यक्रमहरु बालबालिका मार्फत गराउदा उनीहरुको नेतृत्व विकास हुने र भोलिको राष्ट्रको सक्षम नागरिक बन्ने उनले बताए ।
पालुङटार नगरपालिकालाई २०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । उनका अनुसार पालुङटार नगरपालिका भित्र सामुदायिकहरुमा १४ वटा मावि, ४ वटा निमावि र २४ वटा प्रावि रहेका छन् । त्यस्तै, संस्थागत रुपमा ३ वटा मावि, २ वटा निमावि र ५ वटा प्रावि रहेका छन् ।