रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण बुधबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको छ । 

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ।  त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुन:अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ । रुस युक्रेन युद्धमा संलग्न ४ जना  नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतिक पुन बेपत्ता छन् ।

युक्रेनमा बन्दी बनाइएका यी चार जनालाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ । साथै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरु माध्यमबाट पनि कुटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ । नो अब्जेक्सन लेटर परराष्ट्रको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिन्छ ।

नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती देशमा रहेका नेपाली राजदूताबास तथा महावाणिज्यदूताबासबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया