इजरायलको हमलामा अल जजिराका क्यामराम्यानको मृत्यु

गाजा । इजरायली हमलामा शुक्रबार कतारको टेलिभिजन समूह ‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु भएको छ भने गाजाका प्रमुख संवाददाता घाइते भएका छन् । आक्रमण हुँदा दुवै जना दक्षिणी गाजा सहर खान युनिसको विद्यालयमा इजरायली हमलाको बारेमा रिपोर्ट गरिरहेका थिए। 

मारिएका क्यामेराम्यानको नाम समर अबु दक्का रहेको छ भने घाइते संवाददाता वेल अल-दहदौह थिए । अल जजिराका अनुसार दुई जना विद्यालयमा इजरायली हमलाको रिपोर्टिङ गरिरहेको बेला अर्को ड्रोन हमलाका कारण उक्त घटना भएको हो।

रिपोर्टर दहदौहको हात र काँधमा गम्भीर चोट लागेको छ । अस्पतालबाट दहदौहले अल जजिरालाई आक्रमणपछि आफू रगतले लतपत भए पनि भाग्न सफल भएको बताए। उनका अनुसार उनले त्यहाँ उपस्थित एम्बुलेन्स कर्मचारीलाई क्यामेराम्यान अबु दक्का खोज्न भनेका थिए । अल जजीराका अनुसार अर्को एम्बुलेन्स अबु दक्कालाई खोज्न स्कूल पुग्ने प्रयास गरे पनि अवरुद्ध सडकहरूको कारण फर्किनुपर्‍यो।अल जजीराले आफ्नो बयानमा भन्यो कि सिभिल डिफेन्स टोलीले दक्कालाई उनको शरीरबाट ठूलो रक्तस्रावका कारण मृत फेला पारेको थियो।

खान युनिसका ४५ वर्षीय अबु दक्का जुन २००४ देखि अल जजिराका लागि काम गरिरहेका थिए। अबु दक्काको मृत्युबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसअघि अक्टोबरको अन्त्यमा घाइते पत्रकार दहदौकी श्रीमती, छोरा, छोरी र नातिको मृत्यु भएको थियो ।अल जजिराले इजरायलले दहदौहको परिवारलाई जानाजानी निशाना बनाएको आरोप लगाएको थियो। दहदौहलाई प्यालेस्टिनी जनताको अनुहार मानिन्छ। प्यालेस्टाइनको पीडा र कठिनाइहरू संसारलाई बताउनका लागि गाजामा उनलाई उच्च सम्मान गरिन्छ।

प्रतिक्रिया