@रोशनी कार्की
काठमाडौं २४ साउन
प्रश्न १. महिलालाई महिला भएकै कारण घर भित्र र वाहिर दोहोरो भूमिका निभाउनु पर्ने छन् । यो सवालमा तपाईले देखेको सुनेको र भोगेको यथार्थता बताईदिनुहोस् न ?
उत्तर : सर्वप्रथम नमस्कार । मेरो भनाई राख्न पाउदा खुशी लागेको छ धन्यवाद दिन्छु | हो महिलाहरुले घर भित्रको घरायसी, हेरचाह र सरसफाईको काम एकलै र घरबाहिरको काम खेतीपाती, घासपातदेखि कमाउन जागिर खानेसम्मको काम गर्नु परेको छ । करिव १८ घन्टा परिश्रम महिलाको भागमा पर्नेरहेछ भने पुरुषहरुको कार्य बोझ ८ घन्टा देखिन्छ । कति ठूलो अन्तर छ महिलाहरुको कार्यबोझ र पुरुषहरुको कामको समयमा । यसले के देखाउछ भने परिश्रममा विभेद छ । महिलाहरुको पारिश्रमको कुनै मूल्य छैन , आर्थिक गणना गरिदैन र समाजमा यसले प्रत्यक्ष रुपमा महत्व समेत पाएको छैन । यसको पुष्ट्याईका आधारहरु धेरै छन् । जस्तै विहान ३ बजेदेखि उठेर एकछिन् टुसुक्क बस्ने फुर्सद महिलालाई हुन्न सरसफाई,वस्तुभाउ कूड़ोफाडो( खोलेपानी) भात भान्सा, जुठो भाडो, दाउरा घास, मेलापात, वस्तुभाउ , आफिस कार्यालय खाजा भात ,सरसफाई , सामल चामल व्यवस्थापन, किनमेल सबै काम सक्दा रातको १० बज्छ । तर कसैले सोधेको बेला मेरी आमाको केही काम छैन, श्रीमती घरमै बस्छिन केही काम गर्दिनन, दिदीको काम छैन जागिर छैन भनेको सुनिन्छ । अर्थात् यी कामले कुनै पनि आय आर्जन हुन्न । महिलाको यी कार्यको सरकारले आर्थिक योगदानमा गणना गर्न सकेको छैन । पुरुषले जम्मा ८ घन्टा खटेर ज्याला तलब पाउने तर महिलाहरुले १८ घन्टा पसिना बगाउदा केही नपाउने । सानोतिनो घरायसी सामानको व्यवस्थापन गर्न बाबु, श्रीमानकै भरपर्नु पर्ने हुदाँ महिलाहरुको आर्थिक अवस्था कमजोर भएकाले परनिर्भरता, विभेद , यातना दूर्व्यवहार र घरायसी हिँसा भोग्नु परेको छ । मैले नै विगतमा भोगेको छु आफूले जागिर नखाएको बेला घरायसी काम, संतानको हेरविचार गरिरहदा श्रीमान काम गरेर थाक्ने तर हामीले थकाइ लाग्यो भन्दा के काम छ र थाक्नु पर्ने ? हामी त जागिर खान्छौ र पो थाकेका हुन्छौ भन्नु हुन्थ्यो । त्यसैले आफ्नै घरमा आमा, हजुरआमा र समाजमा देखेको र आफैले नी केही भोगेको छु । मेरी हजुरआमा आमा र म त केबल प्रतिनिधि पात्र मात्र हौ ।
प्रश्न २. क्षमता भएरै पनि महिलाहरु महिला भएकै कारण पछि पर्नु पर्ने अवस्था छ ? छ नी होइन ? यसको समाधान के हुन् सक्छ ?
उत्तर : सत्य हो महिलाहरुमा अपार क्षमता छ | महिलाहरुले अवसर पाएको खण्डमा जे पनि गर्न सक्छन | तर समाज पितृसत्तात्मक सोंच र चिन्तनमा रुमलिएको छ | महिलालाई हेर्न दृष्टिकोण घर, परिवार, समाज र पुरुषहरुको विभेदपूर्ण छ | पुरुषको मात्र नभएर यहाँ महिला महिला पनि विभेद पाइन्छ | सासूले पाएको दुख र यातना बुहारीले नी पाउनु पर्ने, आमाले नै छोरालाई स्कूलमा पढाउने तर छोरीलाई घरकै काम लगाउने | मिठो चोखो छोरालाई खुवाउने, राम्रो लुगा छोरालाई दिने गरेकै छन् | सकभर त छोरीलाई अरुको घरमा जाने जात भनेरै शिक्षा, ज्ञान, सीप तालिममा सहभागी नगराउने हुदाँ महिलाको क्षमता विकासमा वाधा पुगेको छ | त्यसमा पनि शाहस गरेर आफ्नै बल र बूताले सीप र क्षमता विकास भएनि अवसर नदिने, विश्वास नगर्ने देखिन्छ | कार्यालयमा उच्च पदमा महिला पुगेको अवस्थामा समेत पुरुष प्रमुखले नीति , योजना तय गर्दा सहभागी नगराउने , गराईहालेमा कुनै राय सुझाव राख्ने मौका नै नदिने गरेको देखिन्थ्यो | तर अहिले समाजमा परिवर्तन आएको छ | महिलाहरु धेरै माथिल्लो दर्जामा दर्ज भैसकेका छन् | समान अधिकार, समावेशी सोंच र समानुपातिक विकासको मान्यताले गर्दा महिलाहरुले क्षमता प्रदर्शन गरिनै रहेका छन् | तापनि ५१.५ प्रतिशत महिलाहरुलाई ३३ प्रतिशत मात्रको आवाज उठेको छ | समावेशी नीति, सोंच र विचार राखिरहदा पुरुषहरु डराएका हाम्रो हक र आधिकार खोस्न लागेको भन्ने बुझिरहेका छन् भने महिलाहरु पुरुषलाई पछि पार्ने हामी अघि भनेरै बुझेका छन् | यहाँ कसैलाई दिने र कसैले लिने भन्ने सवाल नै होइन | केबल पुरुष सरह महिलाहरुको समान अस्तित्व, पहिचान, पहुच, प्रयोग, र प्रभुत्व खोजिएको हो | त्यसैले समबुझाइको समस्या देखिन्छ | महिला भएर क्षमता विकास गर्न सक्ने आधार निम्न देखिन्छन् : महिला स्वयमले ध्यान दिनुपर्ने विषय :
•म महिला केही कुरामै कमजोर छैन भन्ने दृढ साहस कहिलै मर्न नदिने ,
•आफ्नो हक र अधिकारका लागि आफैले आवाज उठाउने ,
•घर, परिवार ,समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान दिन सधै उत्प्रेरित हुने ,
•असमानता, विभेद, अन्याय, र हिसाका लागि सधै आवाज उठाउने ,
•ज्ञान , सीप, दक्षता र क्षमता विकासका लागि मनोबल उच्च बनाउने |
समाज र राज्यले पहल गर्नुपर्ने विषय :
•सामाजिक सोंच र चिन्तनमा परिवर्तन हुनुपर्ने ,
•सामाजिक रुपान्तरमा समाजनै अग्रसर हुने,
•महिलालाई विशेष प्राथमिकतामा राखी सकारात्मक विभेदमार्फत विशेष अवसरको वातावरण तय गर्ने ,
•शिक्षा , तालिम, क्षमता विकासका कार्यक्रमका लागि योजना बनाई कार्यान्वयन गर्ने ,
•राज्यका हरेक आयाम र क्षेत्रमा महिलाको सीप र क्षमता प्रयोगको वातावरण मिलाउने,
•महिलाहरुलाई वित्तीय पहुच र छुट तथा सुविधाका स्किमहरुको विकास गर्ने ,
•महिलाद्वारा उत्पादित र प्रवर्दित सामग्रीहरुको उच्च मूल्यांकन गरी आन्तरिकीकरण, आधुनिकीकरण , वजारीकरण र विश्वव्यापीकरण गर्ने ,
•महिलाहरुको ज्ञान,सीप र क्षमतालाई प्रविधिमैत्री बनाउने |
अन्त्यमा प्रविधिको अकल्पनीय विकासले महिलाको क्षमतालाई तिखार्न , समाज र राज्यलाई महिलाको शक्तिको अन्दाज गर्न कर लागेको छ भन्न सकिन्छ |
प्रश्न ३. तपाईले व्यक्तिगत जीवन,पारिवारिक हुदै आज सार्वजनिक क्षेत्रको उच्च ओहदासम्म आफूलाई के कसरी व्यवस्थापन गर्नु भएको छ ?
उत्तर : संघर्षको बाटोमा उतार चढाव नै जीवन रहेछ | फरक फरक भूमिकामा आज व्यक्ति, परिवार, समाज हुदै सार्वजनिक क्षेत्रमा सेवा गर्ने मौका मिलेको छ | आफैमा गर्व गर्छु , खुशी लाग्छ | म एक मध्यम परिवारकी छोरी हु | मैले एस्. एल.सी सम्मको शिक्षा सगरमाथा अंचल, ओखलढुंगा जिल्लाको वरुणेश्वर मा.वी रामपुर हाल मोलुग गाउपालिका वडा नं २ रामपुरबाट २०४८ सालमा गरेको हु | म सम्झन्छु त्यसबेला प्रतिस्पर्धा बनेको कुन चरीको नाम हो मलाई थाहा थिएन | तर म सानैदेखि खरो स्वभावको थिए | विभेद, अन्याय गर्नु हुन् र सहनु नी हुन्न भन्ने सोंच थियो | मलाई गाउघर धेरै मन पर्ने, खेतीपातीको काम गर्न रमाइलो लाग्ने र दूध , दही, मोही धेरै मन पर्ने | म शहरमा पढ्न नजाने र सहरमा दही मोही खान पाइन्न भनेर एक वर्ष पढ्न ढिला गरे | हाम्रो काठमाडौंमा २०२४ सालमै ज्ञानेश्वरमा घर थियो | हजुरआमा र फूपु दाई, भाइ बस्ने पढ्ने गर्नुहुन्थ्यो | म २०५१ सालमा काठमाडौं आए | प्रमाणपत्र तह पास गरी व्याचलर प्रथम वर्ष पढ्दै गर्दा मेरो विवाह भयो | मैले घर परिवारबाट राम्रै साथ र सहयोग पाए | विवाह भएपछि नै मैले दुई वटा विषयमा मास्टर डिग्री गरे | वि.सं २०६३ सालमा लोकसेवाको प्रतिस्पर्धामा खरो उत्रेर राजपत्राक्कित तृतीय श्रेणी पदमा पास गरी हाल द्वितीय श्रेणीमा कार्यरत छु | हेर्दा खासै ठूलो फड्को मारेझै लाग्दैन | तापनि ग्रामीण भेगबाट संघर्ष गरेरै आज सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवारी प्राप्त गर्दा खुशी लाग्छ | पुरुषलाई जस्तो एकोहोरो काम र सजिलो पक्कै पनि हामी महिलालाई छैन | घरको काम, बालबच्चाको स्याहारसंभार, सामाजिक सम्बन्धको विस्तार, प्रभावकारी सेवा प्रवाह र कार्यालयमा आफ्नो उच्च स्थान बनाउन ठूलो चुनौती छ | तर हिम्मत, आट र शाहसकासाथ चुनौतीलाई परास्त गर्ने अठोट लिएरै अघि बढेको छु |
प्रश्न ४. समतामूलक समाज निर्माणका लागि के गर्नु पर्दछ ?
उत्तर : हाम्रो संविधान वास्तवमै समानता, सामाजिक न्याय, सामाजिक सुरक्षा, समावेशी सोंच र समानुपातिक विकासका लागि दक्षिण एसियामै उदाहरणीय मानिन्छ | यसैले संविधानले ग्यारेन्टी गरेका लैगिक समानता, सामाजिक रुपान्तरण र आर्थिक सशक्तीकरण एवम समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रत्येक व्यक्ति, परिवार, समाज र राष्ट्र नै प्रतिवद्ध भै एक्येवद्धता जनाउनु पर्दछ | समतामूलक समाज निर्माणका लागि गर्नुपर्ने अन्य सुधारहरु :
•राजनैतिक इच्छाशक्ति हुनुपर्दछ ,
•तीनै तहका सरकारको प्रमुख उद्देश्य समातामूलक समाजको निर्माण गर्ने हुनुपर्दछ ,
•राज्यका हरेक आयाम र क्षेत्र ( सामाजिक, आर्थिक, राजनैतिक, न्याययिक, प्रशासनिक, धार्मिक, सास्कृतिक,) मा लैगिक समताका लागि नीति, योजना, मापदण्ड ,कार्यविधि तथा बजेटको यथेष्ट व्यवस्थापन गरिनुपर्दछ ,
•राज्यका सबै आयामहरुमा लैगिक समता कायम गर्न एक व्यक्ति, एक सरकार कुनै अमूक निकायमात्र नभई बहुनिकाय र बहुसरोकारवालाको स्पष्ट र प्रष्ट नीति कार्यान्वयनमा ल्याउनु पर्दछ ,
•लैगिक समानताका लागि भए गरेका प्रयासहरुको समय समयमा अनुगमन गरी ग्याप तथा अन्तर पत्ता लगाई सुधारका प्रयासहरु गरिनुपर्दछ ,
•प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै राम्रा र उल्ल्रेख्नीय प्राप्तिलाई सबैको जानकारीको लागि सार्वजनिकीकरण गर्नुपर्दछ,
•लैगिक समानताका लागि उदाहरणीय कार्य गर्नेलाई संमान तथा पुरस्कृत गरिनुपर्दछ ,
•लैगिक विभेद, अन्याय ,हिँसा ,कुरीतिजन्य र हानीकारक कार्य गर्ने र लैगिक समानताको बाटोमा विरोध, र अवरोध गर्नेलाई कानुनी कारवाही गरिनुपर्दछ,
•अन्त्यमा , अधिकारको मात्र कुरा नगरी व्यक्तिको दायित्व र कर्तव्य समेतको नागरिकलाई बोध गराउनु पर्दछ |
प्रश्न ५. समाजमा अवसर प्राप्त गर्न नसकेका तर उदाहरणीय कार्य गर्छु भन्ने दिदीवहिनीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
उत्तर : हरेक मानिसमा असिमित क्षमता हुन्छ | अवसरले सीप, दक्षता र क्षमताको वृद्धि गराउछ | हाम्रो जस्तो पुरुष प्रधान समाजमा महिलाहरुको दक्षता र क्षमता खोजी गरी उत्पादनमूलक कार्यमा लगाउन नसकिरहेको विद्यमान अवस्था छ | घरेलु र हेरचाहमूलक कार्यमा मात्र महिलाहरुको सीप र कौशल देख्ने घर, परिवार र समाजले १८ घन्टा विना पारिश्रमको श्रमशोषण गराउन सहज ठान्ने समाजले बल्ल विस्तारै महिलाको हक अधिकारलाई सुनिश्चित गराउने प्रयास गरेको देखिन्छ | समाज परिवर्तनशील छ , कसैले चाहेर नचाहेर परिवर्तन गर्ने र रोक्ने भन्ने हुदैन | २१औं शताव्दीका महिलाहरु आफै पनि अवसरको खोजीमा आफ्नो हक र अधिकारको स्थापना गराउन र समाज र देशलाई योगदान पुर्याउन लालायित देखिन्छन् | यति भन्दैगर्दा महिला महिलाबीच आर्थिक, सामाजिक, राजनीतिक, र पारिवारिक जीवनमा लामो र गहिरो अन्तर रहेको छ | सहरी महिलाहरुले शिक्षा, स्वास्थ्य र रोजगारीमा छलाग मारेका छन् तर दूर दराजका महिलाहरुको सामाजिक र मानवीय जीवन अत्यन्तै दयानीय र दुखदायी/पीडादायी रहेकोछ | शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्ध जीवन कुन चरीको नाम हो थाहै नभएको अवस्था छ | त्यसैले म दूर दराज र ग्रामीण भेगका दिदीवहिनीहरुलाई देहायब्नोजिमका सन्देश दिन चाहन्छु :
•हरेक घर परिवारमा महिला मैत्री वातावरण बनोस् | जसका लागि परिवारका सबै सदस्यहरुले समान सोंच,व्यवहार र अवसर प्रदान गरुन ,
•स्थानीय सरकारले महिलालाई लक्षित गरी शिक्षा, स्वास्थ्य, रोजगारीका नीति, कार्यक्रम र बजेटको विनियोजन गरुन,
•महिलाहरुको आर्थिक अवस्थालाई उकास्न वित्तीय व्यवस्थापन, सहुलियतपूर्ण सुविधा, कर तथा राजस्वमा छुटको व्यवस्था गरुन,
•विगतमा विद्यालय जान नसकेका तर पढ्ने, केहि गर्ने सिक्ने तीब्र चाहना भएका दिदीबहिनी,आमाहरुलाई सहज वातावरण मिलाइदिने , योगमाया महिला विद्यालय जस्ता विद्यालय संचालन गर्ने ,
•स्थानीय सरकारले महिला मैत्री कार्यक्रमद्वारा महिलाहरुको सीप, क्षमता , शक्ति र शाहसको पहिचान गरी वातावरण तय गरिदिने ,
•महिलाहरुको सीप र दक्षतानुरुपको कार्यमा संलग्न गराएर उत्पादनमूलक कार्यमा लगाई आय आर्जनमा जोड दिने |
सहरी क्षेत्रका महिला लक्षित अवसरमा वृद्धि :
•हरेक क्षेत्रमा ( शिक्षा, स्वास्थ्य , रोजगार) स्थान बनाएका महिलाहरुले उदाहरणीय कार्य मार्फत समुदायका अन्य महिलालाई सहयोग, समन्वय, सहकार्य गर्ने,
•उच्च स्थान बनाएका महिलाहरुले सामाजिक र कल्याणकारी कार्य गर्ने,
•सार्वजनिक निकायलाई महिलाको अवसर वृद्धि, कामको मूल्यांकन, क्षमता विकास सम्बन्धमा नीति, कार्यक्रम र बजेट सम्बन्धमा राय, सुझाव र सल्लाह दिने,
•महिलाहरुको आधिकार, हकका लागि आवाज उठाउन सहयोग गर्ने,
•घर , परिवार, समाज, सार्वजनिक स्थल र राष्ट्रमा महिलामैत्री वातावरण कायम गर्न पहल गर्ने |
अन्त्यमा राम्रो कार्यका लागि सरकारले वातावरण तयार गरिदिने र उदाहरणीय कार्य गर्ने महिलालाई समाज र राज्यले उच्च मूल्यांकन गरी सम्मान र पुरस्कृत गर्ने परिपाटीको विकास भएमा असल कार्यले सबैलाई प्रेरित गर्नेछ |
उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपसचिव पदमा कार्यरत हुनुहुन्छ ।