सगरमाथा एजुकेसन एकेडेमीलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान

काठमाडौं, ११ साउन ।

सगरमाथा एजुकेसन एकेडेमीलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको छ । नेसनल प्याप्सन काठमाडौँ जिल्लाद्वारा शनिबार आयोजित एक कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले एकेडेमीलाई सम्मान गर्नुभएको हो । नेसनल प्याब्सन काठमाडौँभरिका सदस्य विद्यालयहरूका उत्कृष्ट विद्यार्थी, शिक्षक एवं विद्यालयलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत शिक्षामन्त्री पन्तले एकेडेमीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गर्नुभएको सगरमाथा एजुकेसन एकेडेमीका निर्देशक नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

सगरमाथा एजुकेसन एकेडेमीले काठमाडौँ जिल्लाभरिका नेसनल प्याप्सन सदस्य विद्यालयहरू मध्येबाट औसत ३.८० जीपिए प्राप्त गरेको थियो भने २३ जनाभन्दा बढी एसइइ दिने विद्यार्थी भएका विद्यालयहरूका तर्फबाट काठमाडौँमा प्रथम भएको थियो । 

शैक्षिक वर्ष २०८१ मा विद्यालयबाट २८ जना विद्यार्थी एसइइमा सहभागी भएका थिए । जसमध्ये अनुज थापा र सारिका कार्कीले पूर्र्ण जिपीए ४.०० प्राप्त गरेका थिए । सोही अवसरमा शिक्षामन्त्री पन्तले उत्कृट विद्यार्थीहरु र नेपाली विषय अध्यापन गराउने शिक्षक÷शिक्षिकामा काठमाडौंमा नै प्रथम शिक्षिका मन्दिरा फुँयाललाई सम्मान गर्नुभएको थियो । 


विद्यालयले विभिन्न विधामा पाएको सम्मानले विद्यालय परिवार हर्षित भएकोमा सम्पूर्ण विद्यार्थी शिक्षक एवं अभिभावकहरुलाई विद्यालयका प्रधानाध्यापक पुष्पराज सिंखडाले धन्यवाद व्यक्त गर्नुभयो । नेपालको शैक्षिक उन्नयनमा लाग्न यस किसिमको सम्मान एवं पुरस्कारले हौसला प्रदान गरेको बताउँदै प्रधानाध्यापक सिंखडाले समाज रूपान्तरणमा लाग्न थप हौसला मिलेको र आगामी दिनहरूमा पनि नेपालको शैक्षिक विकासमा सधैं लागि परिरहने धारणा व्यक्त गर्नुभयो । उहाँले, सगरमाथा एजुकेसनल एकेडेमी विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य रहेको जानकारी गराँउदै विद्यालय प्रविधिमैत्री कक्षा कोठा, इन्टरनेट जडित स्मार्ट बोर्ड, पर्याप्त कम्प्युटर सहितको कम्प्युटर ल्याब, साइन्स ल्याब सहित विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।


विद्यालयको एकमात्र लक्ष्य विद्यार्थीहरूको चौतर्फी विकासमा योगदान पुर्याई विद्यार्थीहरूलाई समय अनुकूलको सीप सहितको शिक्षा प्रदान गर्ने रहेको छ । अभिभावकहरूको विश्वास शिक्षकहरूको अथक परिश्रम र विद्यार्थीहरूको लगनशीलताका साथै सम्पूर्ण कर्मचारी विद्यालय प्रशासन र सञ्चालकहरूको साथ र सहयोगबाट विगत १९ वर्षदेखि एसएलसी र एसइइ मा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको बताउँदै प्रधानाध्यापक सिंखडाले यो सम्मानका असली हकदार समस्त अभिभावक शिक्षक विद्यालय परिवार र सञ्चालकहरू रहेको बताउँनुभयो । 

प्रतिक्रिया